काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न आइतबार गौतम च्यासलस्थित एमाले मुख्यालय पुगेका थिए । एमाले फर्किन लागेको चर्चाबीच ओलीलाई भेट्न गौतम च्यासल पुगेका हुन् ।
उनीहरुबीच गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित गर्नेबारे छलफल भएको जनाइएको छ । ‘एमाले अध्यक्ष ओली र मबीच पहिलो चरणको छलफल भयो । आफ्नो पार्टीका नेता कार्यकर्ता कसरी व्यवस्थापन गर्नुहुन्छ ? पहिला त्यसबारे मोडल तय गरौँ त्यसो भएपछि हामी आउँछौ भनेर भनेँ । म एमालेमा सलाम गर्न, सलाम खाएर बस्न आउने होइन, खटेर काम गर्न आउने हो ’, ओलीसँगको भेटपछि गौतमले भने ।
एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमलाई एमाले फर्किन बाटो खुला भएको थियो । सो प्रावधान हटेलगत्तै आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको गौतमले बताएका थिए ।