काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक (अवकाश प्राप्त) मधुकर प्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। राजभण्डारीले तीन करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ १७ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
राजभण्डारीले महानिर्देशकका रुपमा सरकारी पदमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५१ फागुन ३० देखि २०७९ भदौ ३१ गतेसम्मको उनको वैधानिक आय ३ करोड ८५ लाख ५१ हजार ७४० रुपैयाँ ४८ पैसाको आयस्रोत खुल्न आएको देखिन्छ।
सोही जाँच अवधिमा उनले ७ करोड ४२ लाख २९ हजार ८६ रुपैयाँ ६५ पैसा खर्च तथा लगानी गरेको देखिन्छछ। उनको कुल वैधानिक आयलाई उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ १७ पैसाको वैधानिक स्रोत पुष्टि हुन नसकेको अख्तियारले जनाएको छ।
राजभण्डारीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति उनले श्रीमती दिपा श्रेष्ठको नाममा खरिद गरिएको जग्गा, घर निर्माण, कम्पनी लगानी, बीमा प्रिमियम भुक्तानी लगायतमा खर्च गरिएको अनुसन्धानका क्रममा देखिएको छ। महानिर्देशक मधुकरसहित स्रोत नखुलेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र दिपालाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई निजको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।