काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका – ९ स्थित भालुखोलामा ट्रक र कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र १–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र१–०१–००च ७४८२ नम्बरको कार ठोक्किएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी – ६ का ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १७ वर्षीय कुमकुम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।
गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिका–१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी–७ का ४० वर्षीया मुना साह घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।