काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र संगठित अपराध स्वीकार्य नहुने जनाएका छन् ।
मोटरसाइकलको ब्रेक सुमा झन्डै एक क्विन्टल सुन तस्करीको बारेमा त्रिभुवन विमानस्थलमा अनुगमनका क्रममा पुगेका श्रेष्ठले शुक्रबार वर्तमान सरकार सुशासन स्थापनाको काममा दृढतापूर्वक अगाडि बढिरहेको दाबी गरे । उनले एक क्विन्टल सुन तस्करीको विषयमा छानबिन समिति बनाइसकेको र त्यसले छानबिनको प्रक्रियालाई अगाडि बढाइसकेको पनि जानकारी दिए ।
‘त्यो छानबिन कमिटीको प्रक्रियालाई अपराधको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ । जस्तोसुकै र जोसुकै भए पनि त्यसको नेक्सस र ग्रुपमा पुग्ने गरी अनुसन्धानलाई अघि बढाएर कारबाही प्रक्रिया अघि बढाउनुपर्छ,’ उनले भने, ‘सरकारका तर्फबाट मैले अहिले पनि सबै अधिकारीहरुलाई अन्य सरकारी निकायबाट सघाउने काम भइरहेको छ । आवश्यकता पर्यो भने नेपाल प्रहरीले सहयोग गर्नेछ ।’
उनले अहिले राजस्व अनुसन्धान विभागले बनाएको समितिले नै छानबिन गर्ने र आवश्यक परे अन्य निकायहरुलाई पनि समन्वय गरी अघि बढ्न आफूले निर्देशन दिइसकेको पनि जानकारी दिए ।
उनले अपराधमा संलग्नलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धतासमेत जनाए । ‘अहिले राजस्व अनुसन्धान विभागले बनाएको समितिले नै काम गर्नेछ र त्यसलाई सहयोग गरेर अगाडि बढ्न सबै निकायहरुलाई निर्देशन दिएका छौं,’ गृहमन्त्री श्रेष्ठले भने ।