काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि केपी शर्मा ओलीको प्यानलबाट मकवानपुरका रामेश्वर राना केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् । उम्मेदवारको सूचीअनुसार राना बागमती प्रदेश भुगोलतर्फको केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धामा छन् ।
रानाले पार्टीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न आफूले उम्मेदवारी दिएको बताउँदै केन्द्रीय सदस्यमा जिताउन पार्टी पंक्ति र प्रतिनिधिहरूलाई अपिल गरेका छन् ।
पार्टीको नीति, सिद्धान्त र संगठन सुदृढीकरणमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनको छ । विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा आएका राना २०३६ सालदेखि अनेरास्ववियुसँग आबद्ध हुँदै संगठित राजनीतिमा प्रवेश गरेका हुन् । अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरको उपाध्यक्ष र अध्यक्ष हुँदै केन्द्रीय कमिटी सदस्यसम्मको जिम्मेवारी सम्हालेका उनले २०४६ सालको जनआन्दोलनमा मकवानपुरमा आन्दोलनको नेतृत्वसमेत गरेका थिए ।

नेकपा एमाले हेटौंडा नगर कमिटी सदस्य, मकवानपुर पार्टी सचिव, जिल्ला समितिको जननिर्वाचित सभापति र अध्यक्ष प्रणाली विकासपछि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी निर्वाह गरेका राना बागमती प्रदेश कमिटी सदस्य तथा केन्द्रीय कमिटी सदस्यका रूपमा पनि सक्रिय रहे । २०७८ सालमा चितवनमा सम्पन्न ११औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भई मकवानपुर जिल्ला इन्चार्जको भूमिका सफलतापूर्वक निर्वाह गरेका उनी हाल २०८० सालदेखि भूमि आयोग मकवानपुरका अध्यक्ष छन् ।
एमालेको केन्द्रीय नेतृत्वमा मकवानपुरको प्रभावकारी उपस्थिति सुनिश्चित गर्न रानाको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसैगरी, ओलीको प्यानलबाट मकवानपुरकै खुला महिलातर्फ भारती पाठक, खुलातर्फ महेश बर्तौला र आदिवासी जनजातितर्फ एकलाल श्रेष्ठ पनि केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् ।

