काठमाडौं । नेपालकै मध्यभागमा रहेको मध्यनेपाल नगरपालिकामा प्रथम मध्यनेपाल महोत्सव सञ्चालन गरिने भएको छ । मध्यनेपाल ४ रम्घा दुईपिप्पले बजारमा पुस २४ गतेदेखि माग ४ गतेसम्म प्रथम मध्यनेपाल महोत्सव सञ्चालन हुने भएको हो ।
आयोजक लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले सोतीपसल इकाइ समितिले बिहीवार दुईपिप्ले बजारमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी महोत्सवबारे जानकारी गराएको छ ।
महोत्सवको संरक्षक मध्यनेपाल नगरपालिका रहेको छ । ‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति समृद्ध मध्यनेपालको आधार’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग बाणिज्य संघ दुईपिप्ले सोतिपसल इकाइका अध्यक्ष रमेशचन्द्र भट्टराईले बताए ।
नेपालकै मध्यभागमा रहेको मध्यनेपाल नगरपालिकाको चिनारी र विकासमा स्थानीयस्तरबाट नै लाग्नुपर्छ भन्ने हेतुले मध्यनेपाल नगरपालिका संरक्षक रही १० दिनसम्म महोत्सव सञ्चालन गर्न लागिएको उनले बताए ।
महोत्सवले आर्थिकमन्दीको प्रभावले सुस्ताएकोे व्यवसायलाई माथि उठाउने, स्थानीय उद्योग, व्यापार, व्यवसायको प्रवद्र्धन गरी स्थानीयको जीवनस्तर उकास्न मुख्य भूमिका खेल्ने अपेक्षा राखिएको छ ।
मध्यनेपाल क्षेत्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र, स्थानीय अर्गानिक उत्पादन, परम्परागत कला, संस्कार संस्कृति, व्यावसायिक होमस्टेको विस्तार र विकासका कार्यक्रमलाई महोत्सवमा प्राथमिकताका साथ राखिएको अध्यक्ष भट्टराईले बताए । दोस्रो पक्षलाई महोत्सवको ठेक्का दिएर आयोजक आफैँले स्थानीय कला संस्कृति, उद्योग व्यापार प्रवद्र्धन जस्ता कार्यमा सक्रियताका साथ लागेको उनले बताए । महोत्सव सफल पार्नका लागि १६ वटा विभिन्न उपसमितिहरु गठन गरेर तयारी तीव्र पारीएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ ।
मध्यनेपाल नगरपालिकाको वडा नं. ४, रम्घा दुईपिप्लेमा महोत्सव सञ्चालन गरिएतापनि सम्पूर्ण पालिकाभरको प्रतिनिधित्व गर्ने गरी काम गरिने आयोजकले जनाएको छ । महोत्सवमा खाना महोत्सव, होमस्टे प्रबर्धन, नागभैरव, गौरीशंकर मन्दिर, निर्माणाधीन मध्यनेपाल भ्यू प्वाईन्ट अवलोकन, आर्थिक, उद्योग र बाणिज्यको विकास, संस्कृति संरक्षण लगायतका कार्यक्रम महोत्सवमा समेटिने आयोजकले जनाएको छ ।
यसैगरी स्थानीयस्तरमा रहेका प्रतिभा, विद्यालयस्तरीय प्रतिभा, कृषि तथा घरेलु र पशुपंक्षिको बिक्रिवितरण, हस्तकला प्रदर्शनी, प्रस्फुटनका लागि स्थानीय कलाकारहरुको प्रस्तुति, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको महोत्सवमा प्रस्तुतिसमेत रहने छ ।
पहिलो महोत्सव भएकोले यसलाई प्रभावकारी बनाउँदै आगामी दिनमा गरिने दोस्रो महोत्सवको आधारस्तम्भ निर्माण गरिने अध्यक्ष भट्टराइले बताउनुभयो । यसलाई सफल पार्नका लागि पत्रकार, बुद्धिजीवी, समाजसेवीलगायतको सहयोगको आवश्यकता पर्ने उनको भनाइ छ ।
महोत्सवकै माध्यमबाट मध्यनेपाल ४ मा रहेको भानु–घाँसी सम्वाद पार्क र त्यसकै पारितर्फ रहेको घाँसीकुवाको प्रचारप्रसार र प्रवद्र्धन गर्ने महोत्सवको लक्ष्य रहेको छ । घाँसीकुवा यहीँ रहेको यहाँका स्थानीय बूढापाका, बुद्धिजीवी र अग्रजहरुले बताएअनुसार प्रचार गरी चिनारी गराउनुपर्ने दायित्वसमेत रहेको आयोजकले बताएको छ ।
कुल एक शय २० वटा स्टल रहने महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । आयोजकले महोत्सवमा एक करोड बराबरको अपेक्षित कारोबार हुने जनाएको छ ।