काठमाडौं । तनहुँको मार्कीचोकमा निर्माण भएको १३२/३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न गरी विहीबारबाट सञ्चालन (चार्ज)मा ल्याएको हो ।
सबस्टेसन सञ्चालनमा आएसँगै मध्यमस्र्याङदी–डुम्रे–दमौली–१३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण पनि सकिएको छ । मध्यमर्स्याङ्दी –दमौली– मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइन यस अघि नै सञ्चालनमा आइसकेको छ ।
मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै गोरखामा रहेको भोल्टेज ड्रप, पटकपटक लाइन ट्रिप हुने, भोल्टेज नहुने लगायतका समस्यामा कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘दमौली–डुम्रे –आँबुखैरेनी हुँदै ३३ केभी लाइनबाट गोरखामा विद्युत् आपूर्ति भइरहेको थियो, लामो दुरीबाट विद्युत आपूर्ति हुँदा धेरै समस्या थियो, अब मार्कीचोक सबस्टेसनबाट आँबूखैरेनी हुँदै गोरखातर्फ विद्युत् जान्छ, जसबाट ३३ केभी लाइनको दुरी कम हुँदा प्रणालीको चुहावट चुहावट घट्ने, भोल्टेज ड्रप तथा ट्रिपिङमा सुधार आई विद्युत आपूर्ति भरपर्दो हुने छ’, उनले भने ।
‘मार्कीचोक सबस्टेसनबाट १३२ केभी लाइनलाई मार्फत प्रवाह हुने विद्युतलाई निर्माणाधीन मर्स्याङ्दी–मातातीर्थ २२० केभी प्रसारण लाइन आयोजनाको १३२-२२० केभी सबस्टेसनमार्फत २२० केभीमा स्टेप अप गरी काठमाडौंमा विद्युत ल्याउन पनि सकिन्छ ।’ मर्स्याङ्दी–मातातीर्थ २२० केभी प्रसारण लाइन आयोजनाले अहिले मार्कीचोकमै १३२-२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ ।
मध्यमर्स्याङ्दी–डुम्रे–दमौली–१३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख शुभारम्व विक्रम शाहका अनुसार, अब मध्यमर्स्याङ्दी र दमौलीबाट आउने १३२ केभी प्रसारण लाइनलाई मार्कीचोक सबस्टेसनमा प्रवेश गराई (लुप इन) १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तल्लो मस्र्याङदीतर्फ पनि निकाल्न (लुप आउट) गर्न सकिने छ ।
आयोजनाले मार्कीचोकमा सबस्टेसन निर्माण गर्ने, मध्यमर्स्याङ्दी तथा दमौली सबस्टसनमा क्रमशः १ र २ वटा बे र तल्लो मस्र्याङदीमा जिआइएस बे विस्तार गर्न चिनियाँ कम्पनी पिङगाओ ग्रुपसँग आर्थिक वर्ष २०६९-७०मा ठेक्का सम्झौता गरेको थियो ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलियतपूर्ण ऋण रहेको आयोजनाको अनुमानित लागत ६० करोड रुपैयाँ थियो । अनुमानित लागतभित्रै निर्माण सम्पन्न भएको प्रमुख शाहले बताए ।
प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।
मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ । चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् ।
सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।