काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा हस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेतर्फका २ जना र सरकारी वकिल ९ जनाले बहस गरे ।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका हुन् । यस्तै सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल, विना खड्कासहित ९ जनाले बहस गरेपनि सबैको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
मंगलबार सार्वजनिक बिदा भएकाले मुद्दाको अर्को सुनुवाइ बुधबारमात्रै हुनेछ । त्यतिबेलासम्म लामिछाने न्यायिक हिरासतमै रहनेछन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए । तर आइबार थुनछेक बयान मात्रै भएपछि न्यायाधीश अधिकारीले लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएका थिए ।