काठमाडौं । सेयर बजारमा ६ अंकको सुधार आएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७८ अंकले बढेर २६०७.९९ बिन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से १२.५८ अंकले बढेर २६०१.२१ बिन्दुमा रोकिएको थियो। सोमबार नेप्सेमा कुल ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार पनि ६ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
सोमबार मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक अर्थात् ९.०५ प्रतिशतले बढ्दा वीन नेपाल लघुवित्त र सुपर माडी हाइड्रोपावरमा नकारात्मक सर्किट लागेको छ।
आज फाइनान्स समूहमा सर्वाधिक अर्थात् २.५३ प्रतिशतको गिरावट आउँदा विकास बैंक समूह ०.६० प्रतिशतले घटेको छ। उत्पादन समूहमा १.६८ प्रतिशतको सुधार आउँदा व्यापार समूह १.०६ प्रतिशतले बढेको छ।