काठमाडौं । भन्सार विभागले वस्तु आयातमा प्रयोग हुने प्रज्ञापनपत्रमा क्यूआर कोड सेवा सुरू गरेको छ। नक्कली र सक्कली प्रज्ञापनपत्र छुट्याउने गरी क्वीआर कोडको प्रयोग थालिएको हो। यसले भन्सारमा आयात भई बिक्री हुने वस्तु वैध वा अवैध भन्ने सघाउँछ। विभागको सिस्टममा क्यूआर कोड स्क्यान भए सक्कली र नभए नक्कली हुने विभागले जनाएको छ।
भन्सार दिवसको कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजस्व प्रगति गत वर्षको तुलनामा बढे पनि लक्ष्य भेट्टाउन सक्ने गरी काम गर्न निर्देशन दिएका छन्।
चालू आर्थिक वर्षको अन्त्यसम्म राजस्वको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गरे। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले वस्तु जाँचपासमा प्रक्रियागत झन्झठ हटाउनुपर्ने बताए। अन्तर्राष्ट्रिय भन्सार प्रशासनमा प्रविधिको प्रयोग बढे पनि नेपालमा त्यसअनुसार बढ्न नसकेको उनको भनाइ छ।
भन्सार प्रशासन राजस्व उठाउने मात्रै नभई अन्तर्राष्ट्रिय व्यापार बढाउने संस्था रहेकाले सहजीकरण गर्नुपर्ने बताए। आधुनिक स्क्यानर नहुँदा भन्सारबाट वस्तु पास हुन ढिलाइ हुने गरेको छ।
तयारी वस्तुको तुलनामा कच्चा पदार्थको भन्सार दर एक तह लागू गर्ने बताइए पनि बहाना देखाउँदै बढी लिँदा स्वदेशी उद्योगलाई अप्ठ्यारो भइरहेको उनले उल्लेख गरे।