काठमाडौं । देशभरका शिक्षकहरू काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सडकमा प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले शिक्षा ऐन जारी गर्न र विगतका सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइरहेका छन्।
यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा रिले अनशनमा बसेर आन्दोलन सुरु गरेका उनीहरू यसपटक सडकमा ओर्लिएका हुन्।
शिक्षा ऐन जारी गर, शिक्षकलाई ढाँट्न पाइँदैन, संसद् अधिवेशन चालु गरलगायतको मागसहितको नारा लगाउँदै शिक्षकहरूले सिठी फुकेर प्रदर्शन गरेका छन्।
नेपाल शिक्षक महासंघले सडक केन्द्रित आन्दोलन माग पूरा नहुन्जेल चलिरहने बताएको छ। संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलका क्रममा रहेको विद्यालय शिक्षा विधेयकलाई चाँडोभन्दा चाँडो ऐनको रूप दिनुपर्ने उनीहरूको माग छ।