काठमाडौं । आफ्नो सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै रास्वपाका नेताहरुले राष्ट्रिय मानव अधिकार आयोग गुहारेका छन् । आज (मंगलबार) रास्वपाका नेताहरु आयोगको कार्यालयमा पुगी सोबारे ध्यानाकार्षण गराएका हुन् ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी र संसदीय दलका प्रमुख सचेत सन्तोष परियारको नेतृत्वमा पुगेका रास्वपाका नेताहरुले लामिछानेको मानव अधिकार रक्षाका लागि अपिल गरेका छन् । लामिछानेलाई प्रहरीले पक्राउ गर्न हतारो गरेको र राति नै धरपकड गरेको भन्दै यसअघि पनि रास्वपाका नेता तथा कार्यकर्ताहरुले आलोचना गरिरहेका छन् ।
स्वयम् लामिछानेले पनि पक्राउ पर्नुअघि भिडिओ सन्देश जारी गरेका थिए । उनले आफू न्यायालयप्रति विश्वस्त रहेको बताएका छन् । तर, कारागार चलानअघि उनले आफूले यो परीक्षा पहिले दिएको भएपनि अब सबै नेताहरुले दिनुपर्ने भनेका छन् ।