काठमाडौं । लेखक तथा भुटानी शरणार्थी नेता बलराम पौड्यालद्वारा लिखित खोजमूलक कृति ‘पर्दापछाडिको भुटान’ र यसको अङ्ग्रेजी अनुवाद ‘Bhutan Behind the Curtain’ आइतबार सार्वजनिक गरिएको छ।
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरको यलमाया केन्द्रमा आयोजना गरेको कार्यक्रममा लेखक पौड्यालसहित अधिकारकर्मी तथा पत्रकार कनकमणि दीक्षित, देवेन्द्र भट्टराई र प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले संयुक्त रूपमा कृति विमोचन गरे।
कृतिका अङ्ग्रेजी संस्करणको अनुवाद भीष्मप्रसाद सङ्ग्रौलाले गरेका हुन् भने सम्पादन नारायण फुयाल शर्मा र सङ्ग्रौलाकै संयोजनमा गरिएको हो।
कार्यक्रममा ‘राजबन्दी र शरणार्थी मुद्दामाथि विमर्श’ पनि गरियो, जसमा वक्ताहरूले भुटान सरकारले नेपाली भाषीहरूमाथि गरेको अत्याचार, जबर्जस्ती निर्वासन, र कारागारमा थुनिएका नेपालीहरूका पीडा र न्यायको अभावमाथि गम्भीर चिन्ता व्यक्त गरे।
पत्रकार कनकमणि दीक्षितले तेस्रो मुलुकमा पुनर्स्थापना भएको भन्दै शरणार्थी मुद्दा बन्द गरिएको भ्रममा नपर्न चेतावनी दिए। उनले भुटान भित्रै पनि सङ्क्रमणकालीन न्यायको आवश्यकता बढ्दै गएको बताए।
अधिकारकर्मी सुशील प्याकुरेलले राजबन्दी तथा शरणार्थी मुद्दाहरू अझै सुल्झिन नसकेको भन्दै थप ऊर्जाशील रूपमा पहल गर्नुपर्नेमा जोड दिए।
वरिष्ठ अधिकारकर्मी गोपालकृष्ण शिवाकोटीले भुटानी शरणार्थी मुद्दा नेपालको कूटनीतिक असफलताको ज्वलन्त उदाहरण भएको टिप्पणी गरे।
पत्रकार देवेन्द्र भट्टराईले अझै पनि भुटानका जेलहरूमा धेरै नेपालीभाषी राजबन्दी रहेको खुलासा गर्दै अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्ने बताए।
अनुसन्धानकर्ता तथा अनुवादक भीष्मप्रसाद सङ्ग्रौलाले सरोकार समूह बनाएर मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा भावुक हुँदै लेखक बलराम पौड्यालले २०२५ सालभित्र नेपाली भाषी भुटानीहरूसँग जोडिएका सबै समस्याहरूको समाधान होस् भन्ने आशा र कामना व्यक्त गरे।
शरणार्थीको पीडा र राजबन्दीहरूको कथा समेटिएको यस कृतिलाई मानवअधिकार र अन्तर्राष्ट्रिय न्यायको क्षेत्रमा योगदान पुर्याउने दस्तावेजका रूपमा हेरिएको छ।