काठमाडौं । नेपाल चिकित्सक संघको नेतृत्वमा देशभर आकस्मिक र सघन कक्षबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा असार २३ गतेदेखि बन्द गरिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण गराएको छ।
आयोगले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवाको बन्दका कारण लाखौं नागरिकको स्वास्थ्यमा असर परेको भन्दै चिन्ता व्यक्त गरेको छ। आयोगका अनुसार यस बन्दले संविधान प्रदत्त नागरिकको स्वास्थ्य सेवामा पहुँचको अधिकार उल्लङ्घन भएको छ।
आयोगले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूबाट प्राप्त जानकारी र उजुरीका आधारमा, संविधानको धारा ३५ र ४४, साथै अन्तर्राष्ट्रिय महासन्धिको धारा १२ ले प्रत्याभूत गरेको स्वास्थ्य सेवामा पहुँचको हकको उल्लङ्घन भएको जनाएको छ।
“स्वास्थ्य जस्तो अत्यावश्यक सेवा बन्दले नागरिकको जीवन जोखिममा पर्न सक्छ,” आयोगको विज्ञप्तिमा उल्लेख छ। आयोगले सबै चिकित्सकहरूलाई पेशागत मर्यादा कायम राख्दै जिम्मेवारीपूर्वक सेवा सञ्चालन गर्न आग्रह गरेको छ।
साथै आयोगले नेपाल चिकित्सक संघ र नेपाल सरकारलाई समस्याको समाधान संवाद र कानुनी प्रक्रियामार्फत खोज्न र तत्काल स्वास्थ्य सेवा सुचारु गर्न आग्रह गरेको छ।