काठमाडौं । सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिका–६ बागेश्वरस्थित एकै घरका १६ जना सदस्य आइतबारदेखि सम्पर्कविहीन भएका छन्। स्थानीय वडाध्यक्ष रबिन श्रेष्ठका अनुसार, हराएका परिवारले घरमा रहेका वस्तुभाउ (पशुचौपाया) यत्तिकै छाडेर अचानक घर छोडेका हुन्।
“घरमा कुखुरा, बाख्रा, गाईभैंसी सबै खुल्ला अवस्थामा छन्, तर मानिसहरू कतै देखिएका छैनन्,” वडाध्यक्ष श्रेष्ठले बताएका छन्। स्थानीयवासीहरूले आइतबारदेखि नै परिवार सम्पर्कविहीन भएको जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनाबारे बुझ्ने र खोजतलास गर्ने काम सुरु गरेको जनाएको छ।
प्रहरीले हालसम्म हराएको कारण स्पष्ट नभएको बताउँदै स्थानीय जनप्रतिनिधि तथा गाउँलेहरूसँग समन्वय गरी परिवारको अवस्थाबारे जानकारी संकलन गरिरहेको छ। एकै घरका यति धेरै सदस्य अचानक हराएको घटनाले स्थानीय क्षेत्रमा त्रास र आशंका फैलिएको छ। प्रहरीले घटनालाई प्राथमिकताका साथ अनुसन्धान गरिरहेको जनाएको छ।