काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेकाले देशभर सामान्य बदलीको अवस्था छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहानको मापनको आधारमा कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव अहिले सतर्कता तहभन्दा तल रहेको जानकारी दिएको छ। तर केही साना नदीहरूमा अचानक बहाव बढ्ने खतरा रहेको उल्लेख गरिएको छ।
१५ भन्दा बढी जिल्लामा मध्यम जोखिम
इलाम, झापा, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, प्युठान, रुकुम पश्चिम, नवलपरासी पूर्व-पश्चिम, जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर लगायतका जिल्ला हुँदै बहने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको पूर्वानुमान गरिएको छ।
थप २० भन्दा बढी जिल्लामा पनि सावधानी अपनाउन सुझाव
मोरङ, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, धनकुटा, तेह्रथुम, पाँचथर, स्याङ्जा, तनहुँ, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, बर्दिया, पर्वत, बागलुङ, म्याग्दी, अछाम, डडेलधुरा, दार्चुला लगायतका जिल्लामा पनि साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ।
यस क्षेत्रमा आकस्मिक बाढीको मध्यम सम्भावना रहने भएकाले सतर्क रहन अनुरोध गरिएको छ।