काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको भन्दै २ लाख रुपैयाँ जरिवाना लगाएको छ। नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य गुणस्तर मापदण्डअनुरूप नभएको पाइएपछि कारबाही गरिएको हो।
महानगरको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार, धरहरा टपरी ममले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको हो। उनले बताए अनुसार, “बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ।”
महानगरले व्यवसाय सञ्चालकलाई ७ दिनभित्र जरिवाना रकम बैंकमार्फत जम्मा गरी जानकारीसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्री–वितरणको व्यवस्था मिलाउन पनि व्यवसायीलाई निर्देशन दिइएको छ।