काठमाडौं । काठमाडौंमा जारी जेन–जी पुस्ताको आन्दोलन अझै हिंसात्मक बन्दै जाँदा मृत्यु हुनेको संख्या बढेर १८ पुगेको छ।
राष्ट्रिय ट्रमा सेन्टरमा थप एक घाइतेको मृत्यु भएपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। ट्रमा सेन्टरमा हाल ५० जना घाइतेको उपचार भइरहेको छ, जसमा ४ जनाको अवस्था गम्भीर रहेको छ।
एभरेस्ट अस्पतालमा ५, सिभिल अस्पतालमा ३, काठमाडौं मेडिकल कलेजमा २ र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
मृतकहरूको परिचय खुल्न बाँकी छ। तर, मृत्यु हुनेमध्ये स्कुले बालबालिकासमेत परेका अस्पतालहरूले जनाएका छन्। यसैबीच, काठमाडौंका विभिन्न अस्पतालमा हाल २ सयभन्दा बढी घाइतेको उपचार भइरहेको छ।