काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपालीहरूबाट अवैध रकम असुलेको गम्भीर आरोपपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराईसहित ६ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमै सञ्चालन भएको अवैध असुली नेटवर्कसँग सम्बन्धित रहेको अख्तियारले जनाएको छ।
अख्तियारले नियमित निगरानीका क्रममा ७ चैत २०८१ मा तत्कालीन अध्यागमन प्रमुख भट्टराईलाई विमानस्थलबाटै पक्राउ गरेको थियो। अनुसन्धानकै क्रममा भिजिट भिसाका नाममा गैरकानूनी रूपमा रकम असुल्ने संगठित प्रणाली चलेको प्रमाण फेला परेको आयोगले बताएको छ।
यस प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम पनि जोडिएको छ। भट्टराईलाई एयरपोर्टमा पठाउने निर्णयदेखि असुलीधन्दा सहज बनाउने ‘सेटिङ’समेत लेखककै पहलमा भएको आरोप लागेको थियो।
घटना सार्वजनिक भएपछि तत्कालीन विपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभाको बैठकसमेत अवरुद्ध गरेका थिए।
अख्तियारले भट्टराईसहित संलग्न सबै व्यक्तिमाथि कानुनी कारबाही अघि बढाइसकेको र थप संलग्नताबारे अनुसन्धान जारी रहेको जनाएको छ।

