काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलबाट हालका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन्। पाँच जना उपाध्यक्षका उम्मेदवार तय गर्ने क्रममा ओली पक्षले गुरुङलाई समेत उम्मेदवार बनाएको हो।
उपमहासचिव गुरुङ पछिल्लो समय अध्यक्ष ओलीको नीतिगत र राजनीतिक प्रतिरक्षामा सक्रिय नेतामध्ये एक मानिन्छन्। महासचिवका बलिया आकांक्षी रहेका गुरुङले अन्तिम समयसम्म अध्यक्ष ओलीसमक्ष महासचिव बन्ने चाहना व्यक्त गर्दै आएका थिए। शंकर पोखरेल महासचिवमा दोहोरिन नहुने भन्दै उनले आफू महासचिवको उम्मेदवार बन्ने दाबी पनि गर्दै आएका थिए।
पछिल्लो समयसम्म विद्या भण्डारी–ईश्वर पोखरेल पक्षसँग संवादमा रहेका गुरुङलाई उपाध्यक्ष विष्णु पौडेल निकट नेता मानिन्छ। ओलीले गुरुङलाई महासचिवको उम्मेदवार नबनाएपछि उनलाई महासचिवमा अघि सार्ने तयारी पोखरेल पक्षले गरेको थियो। गुरुङ तयार हुँदा सोही पक्षबाट हाल महासचिवका उम्मेदवार बनेका सुरेन्द्र पाण्डे पनि गुरुङलाई समर्थन गर्न तयार थिए।
गुरुङलाई महासचिवको उम्मेदवार बनाउँदा शंकर पोखरेललाई बलियो टक्कर दिन सकिने विश्लेषण सो पक्षको थियो। तर, महासचिवको आकांक्षा हुँदाहुँदै पनि उपाध्यक्ष बनेर ओलीकै प्यानलमा रहन गुरुङ तयार भएपछि उक्त पक्षबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार बनेका हुन्।
भदौ २३ र २४ गतेसम्मको जनआन्दोलनपछि ओली नेतृत्वको सरकार ढल्नुअघिसम्म गुरुङ सञ्चार, सूचना तथा प्रविधि मन्त्रीका रूपमा कार्यरत थिए। विदेशी षड्यन्त्रका कारण सरकार ढालिएको र केपी ओली राष्ट्रवादी नेता भएको तर्क गर्दै उनी पछिल्लो समय फेरि पनि एमाले अध्यक्ष ओली नै बन्नुपर्ने पक्षमा उभिँदै आएका छन्।
पृथ्वीसुब्बा गुरुङ पञ्चायतकालमै २०३४ सालदेखि राजनीतिमा सक्रिय रहेका नेता हुन्। सुरुमा शिक्षण पेशामा आबद्ध गुरुङले त्यहीँबाट राजनीतिक यात्रा सुरु गरेका थिए। उनले २०३७ सालमा तत्कालीन नेकपा (माले) बाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए।

