काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई नयाँ आर्थिक वर्षका लागि सङ्घीय समपूरक अनुदान र विशेष अनुदान अन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको छ।
मन्त्रालयले यसका लागि “समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२” र “विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२” अनुसार प्रदेश सरकार र स्थानीय तहबाट प्रस्ताव आह्वान गरिएको जनाएको छ।
नयाँ आर्थिक वर्षको बजेट निर्माणका लागि माघ मसान्तभित्र समपूरक र विशेष अनुदान अन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि प्रस्ताव पेस गर्नुपर्ने समयसीमा राखिएको छ। मन्त्रालयका अनुसार, प्रस्ताव विद्युतीय प्रणालीमार्फत राष्ट्रिय योजना आयोगमा पेस गर्नुपर्नेछ।
बजेट निर्माण प्रक्रियाअनुसार, प्रत्येक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिन सङ्घीय सरकारका अर्थमन्त्रीले वार्षिक बजेट संसदमा प्रस्तुत गर्ने व्यवस्था छ।
मन्त्रालयले स्थानीय तहहरूलाई समयसीमा भित्र आवश्यक विवरणसहित कार्यक्रम प्रस्ताव तयार पार्न ध्यान दिन आग्रह गरेको छ।

