काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच सोमबार मध्यरातमा भएको भेटवार्ता सकारात्मक रहेको सहभागी नेताहरूले बताएका छन्।
काठमाडौँस्थित असिम साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा दुवै नेताबीच भेटवार्ता भएको हो। छलफलपछि रवि लामिछाने र बालेन साह एउटै गाडीमा सँगै बाहिरिएका थिए, जसले भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
भेटमा सहभागी तथा समन्वयकर्ता असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा भएको थियो। यद्यपि भेटमा उठाइएका ठोस विषयहरू सार्वजनिक नगरिए पनि आपसी समझदारी, मिलेर अघि बढ्नुपर्ने आवश्यकता र सम्भावित राजनीतिक सहकार्यबारे सकारात्मक संवाद भएको नेताहरूको भनाइ छ।
यस भेटलाई पछिल्लो समय दुवै नेताबीच देखिएको राजनीतिक दूरी कम गर्ने प्रयासका रूपमा पनि हेरिएको छ। विशेषगरी वैकल्पिक राजनीति र सुशासनको एजेन्डामा साझा धारणा बनाउने संकेतका रूपमा यस भेटलाई विश्लेषकहरूले अर्थ्याएका छन्।
भेटपछि रास्वपा नेता असिम साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।’
यस भेटले आगामी दिनमा राष्ट्रिय राजनीतिमा नयाँ समीकरण र सहकार्यको सम्भावना बढाएको चर्चा हुन थालेको छ।

