काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य जिल्ला निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आयोगको बैठकले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनका लागि जिल्ला न्यायाधीश र नेपाल न्याय सेवाका उपसचिव तहका कर्मचारी गरी कुल १६५ जनालाई मुख्य जिल्ला निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको हो । संविधान, यस ऐन तथा संघीय कानुनबमोजिम निर्वाचनसम्बन्धी कार्य सम्पादन गर्न वा गराउन आयोगले प्रत्येक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्था छ ।

