काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै पार्टीका जनसंगठनहरूलाई सक्रिय रूपमा परिचालित हुन निर्देशन दिएका छन्।
एमाले केन्द्रीय कार्यालयमा आज सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसंगठनहरू निर्वाचन अभियानको अग्रपङ्क्तिमा उभिनुपर्ने बताएका हुन्। उनले संसद् पुनःस्थापनाको मागसँगै निर्वाचनलाई जनअधिकार र प्राप्त उपलब्धिको रक्षाका रूपमा लिनुपर्ने उल्लेख गरे।
बैठकमा सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत पार्टीका पक्षमा जनमत निर्माण गर्नुपर्नेमा विशेष जोड दिइएको छ। पार्टीको नीति तथा कार्यक्रमलाई डिजिटल माध्यममार्फत जनतामाझ पुर्याउन जनसंगठनहरूको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरिएको थियो।
पार्टीको ‘सर्कुलर’अनुसार सबै जनसंगठनहरू परिचालित भई युवासहित विभिन्न वर्ग, समुदाय र पेसागत समूहमा पार्टीको सन्देश सशक्त रूपमा पुर्याउनुपर्ने महासचिव पोखरेलले निर्देशन दिए।
बैठकमा पार्टीका सचिव एवं संगठन विभागका संयोजक भानुभक्त ढकालले जनसंगठनहरूलाई थप सक्रिय, अनुशासित र परिणाममुखी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए।
एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारमा तीव्रता दिने तयारी गरेको बैठकमा जनाइएको छ।

