काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा विद्युत् सेवा पुनःस्थापनाको काम तीव्र रूपमा अघि बढाइएको छ। धादिङ र नुवाकोटका सबै क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा आइसकेको छ भने रसुवाका करिब ९० प्रतिशत क्षेत्रमा बिजुली पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार नुवाकोटमा भदौ २४ गतेदेखि नै सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन भएको हो। धादिङमा भने त्यसअघि नै सबै क्षेत्रमा बिजुली जोडिसकिएको उनले बताए।
भदौ १० गते आएको बाढीले विद्युत् पूर्वाधारमा क्षति पुर्याएपछि रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो। मन्त्रालयका अनुसार बाढी आएको भोलिपल्टदेखि नै विद्युत् सेवा पुनःस्थापनाको काम सुरु गरिएको थियो।
सबैभन्दा बढी प्रभावित रसुवामा हालसम्म करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा आएको छ। उत्तरगया गाउँपालिका वडा नम्बर १ तथा गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर १, २ र ३ बाहेक रसुवाका अन्य क्षेत्रमा विद्युत् सेवा सञ्चालन भइसकेको शाक्यले जानकारी दिए।
राष्ट्रिय विद्युत् वितरण प्रणाली तत्काल पुर्याउन नसकिएका क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् उपलब्ध गराउने कामसमेत भइरहेको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत संस्थागत तथा घरेलु सौर्य प्रणाली जडान गरी विद्युत् सेवा क्रमशः सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

