काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम अर्थात् हिउँदमा काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक तयारी सुरु गरेको छ।
हिउँदमा विद्युत् माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा प्राधिकरणमा बसेको बैठकले आवश्यक अध्ययन तथा कामलाई तीव्रता दिने निर्णय गरेको हो।
रसुवा जिल्लास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण त्यस क्षेत्रमा सञ्चालित जलविद्युत् आयोजनामा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द भएको छ। यसका कारण आगामी हिउँदमा विद्युत् माग र आपूर्ति व्यवस्थापनमा चाप पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले अहिलेबाटै तयारी अघि बढाएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा आयोजना व्यवस्थापन निर्देशनालय र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक, विभिन्न विभागका प्रमुख तथा आयोजना प्रमुखहरूको सहभागिता थियो।
बैठकले हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक अध्ययन तथा कार्य अघि बढाउन बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई दैनिक कार्यप्रगति विवरण कार्यकारी निर्देशकसमक्ष पेश गर्न तथा कार्यान्वयनका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ।
बैठकमा कार्यकारी निर्देशक श्रेष्ठले त्रिशूली नदी बेसिनका विद्युत् केन्द्रहरूबाट उत्पादन बन्द हुँदा विद्युत् माग र आपूर्ति व्यवस्थापनमा केही चाप परे पनि आगामी हिउँदमा लोडसेडिङ नहुने स्पष्ट पारे।
उनले विद्युत् आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी अहिलेबाटै अघि बढाइएकाले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताए।
बैठकले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा निर्माणाधीन प्रसारण तथा वितरणतर्फका आयोजनाहरूको काम सम्पन्न गर्ने समयसीमासमेत तोकेको छ।
त्यस्तै, बाढीबाट प्रभावित नुवाकोट र रसुवाको विद्युत् आपूर्तिलाई थप भरपर्दो बनाउन विभिन्न विकल्पबारे छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।
बाढीबाट क्षति पुगेको देवीघाट सबस्टेसन सञ्चालनमा ल्याउने सम्भावनाबारे स्थलगत अध्ययन गर्न टोलीसमेत परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

