काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधनासहित काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा परम्परागत तथा सांस्कृतिक पर्व इन्द्रजात्रा धुमधामका साथ मनाइएको छ ।
मनसुनी झरीबीच वसन्तपुर क्षेत्रमा रथयात्रा, विभिन्न सांस्कृतिक झाँकी तथा परम्परागत नाच प्रस्तुत गर्दै इन्द्रजात्रा मनाइएको हो । इन्द्रजात्राका अवसरमा कुमारी घरबाट जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवलाई रथारोहण गराई रथयात्रा सुरु गरिएको थियो ।
रथयात्रा अवलोकन गर्न ठुलो संख्यामा स्थानीय तथा उपत्यकाका विभिन्न स्थानबाट सर्वसाधारण वसन्तपुर र आसपासका क्षेत्रमा भेला भएका थिए । परम्परागत बाजागाजासहित विभिन्न सांस्कृतिक समूह तथा समुदायको सहभागिता रहेको थियो ।
इन्द्रजात्रामा देवप्याखँ, लाखेनाच, पुलुकिसी नाचलगायतका परम्परागत नाच तथा सांस्कृतिक प्रस्तुति विशेष आकर्षणका रूपमा रहेका थिए । जात्राका कारण वसन्तपुर, असन, इन्द्रचोक, हनुमानढोका लगायतका क्षेत्रमा विशेष चहलपहल देखिएको थियो ।
जात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादवसहित विशिष्ट पदाधिकारी वसन्तपुर पुगेका थिए । कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सभामुख डोलप्रसाद (डीपी) अर्याल, उपसभामुख रुबीकुमारी ठाकुरलगायत विभिन्न मन्त्री तथा पदाधिकारीसमेत जात्रा अवलोकनका लागि पुगेका थिए ।
जात्रामा सहभागी महिला मन्त्रीहरूले हाकुपटासी लगाएका थिए । उनीहरूलाई काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहित जनप्रतिनिधि तथा विभागीय प्रमुखहरूले जुद्ध शालिक अगाडि स्वागत गरेका थिए । त्यसपछि उनीहरू पैदल गद्दी बैठकसम्म पुगेका थिए ।
विशिष्ट पदाधिकारीहरूले गद्दी बैठकबाट येँया अर्थात् इन्द्रजात्रा अवलोकन गरेका थिए । काठमाडौं महानगरपालिकाले उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसहित कूटनीतिक क्षेत्रका पदाधिकारी, आमन्त्रित पाहुना, महानगरका नगरसभा सदस्य र विभागीय प्रमुखका लागि पनि जात्रा अवलोकनको व्यवस्था मिलाएको थियो ।
इन्द्रजात्राका धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलापअन्तर्गत जीवित देवीदेवताको रथयात्रा मुख्य आकर्षण मानिन्छ । यस वर्ष भाद्र २८ गते ञलाथ्व द्वितीयाका दिन मानन्धर समुदायका गुठियारहरू यःसिं लिन वनतर्फ प्रस्थान गरेका थिए। सोही दिन साँझ ८ बजेर ४७ मिनेटको साइतमा वृक्षकर्तन गरिएको थियो । यःसिंलाई भोटाहिटी हुँदै आश्विन ३ गते बिहान ८ बजेर ५ मिनेटको साइतमा नगर प्रवेश गराइएको थियो ।
असोज ७ गते बिहान ७ बजेर ४७ मिनेटको साइतमा ‘यःसिं थनेगु’ अर्थात् इन्द्रध्वजोत्थान गरिएको थियो । त्यस दिन नेवार समुदायले दिवंगतहरूको सम्झनामा काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाएका थिए । सोही दिन गणेश र भैरवलाई कुमारी घरमा ल्याएर तलेजु भवानी मन्दिरको मूलद्वारमा लगेर लसकुस गरी निम्तो दिइएको थियो ।
शनिबार रथयात्राको पहिलो दिन श्री कुमारी, श्री गणेश र श्री भैरवलाई रथारोहण गराई पूजा सम्पन्न गरेपछि तल्लो टोलतर्फ रथयात्रा गरिएको हो । रथयात्रापछि दाँगीको नगर परिक्रमा गर्ने परम्परा रहेको छ । दाँगीलाई इन्द्रदेवकी आमाका रूपमा मान्ने गरिन्छ ।
इन्द्रजात्रा काठमाडौं उपत्यकाको प्राचीन नेवार संस्कृति, धार्मिक आस्था तथा सामाजिक एकताको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । जात्राका क्रममा विभिन्न देवीदेवताका मूर्ति प्रदर्शन, नाच, पूजा तथा सांस्कृतिक गतिविधि सञ्चालन हुने गरेका छन् ।
आइतबार माथिल्लो टोलमा रथयात्रा हुनेछ । आश्विन १३ गते मंगलबार नानीचायाका दिन माथिल्लो टोलको किलागः हुँदै नगर परिक्रमा गराउने परम्परा रहेको छ । इन्द्रजात्राको अन्तिम दिन हुने नानीचाया रथयात्रामा स्थानीय महिला दिदीबहिनीको सहभागिता हुँदै आएको छ । पछिल्ला १४ वर्षदेखि स्थानीय महिलाको नेतृत्वमा श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ तान्ने कार्य हुँदै आएको छ । नानीचाया रथयात्रा वसन्तपुर, प्याफल, यटखा, नरदेवी, किलागः, भेडासी, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुर पुग्नेछ । रथयात्राको मार्गमा स्थानीय क्लब तथा संस्थाले देवीदेवताका रथलाई स्वागत गर्दै विशेष पूजा गर्ने व्यवस्था मिलाउनेछन् ।
रथयात्राका क्रममा लाखे आजु, पुलुकिसी र हलचोक आकाश भैरव सहभागी हुने परम्परा रहेको छ । देवी नाच, महाकाली नाच र दश अवतार प्रदर्शन पनि इन्द्रजात्राका महत्वपूर्ण गतिविधि हुन् ।

