- संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई दिने कर्मचारीमाथि कारबाही गर्ने चेतावनी।
- राज्यको सूचनामा पदीय पहुँच भए पनि दुरुपयोग गर्ने अधिकार नहुने स्पष्टोक्ति।
- सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सोमबार निलम्बित।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यको गोप्य तथा संवेदनशील सूचना चुहाउने जोसुकैलाई कानुनी कारबाही गर्ने बताएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राज्यले सुम्पिएको गोपनीयता जानाजान उल्लङ्घन गर्ने व्यक्तिले कुनै उन्मुक्ति नपाउने चेतावनी दिएका हुन्।
संवेदनशील सूचना चुहावटको आरोपमा सरकारले सोमबार सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको थियो। गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविरुद्ध काम गरेको र संवेदनशील सूचना चुहाएको आरोप लगाएको छ। त्यसको भोलिपल्ट गुरुङले सूचना संरक्षण र कर्मचारीको जिम्मेवारीबारे सार्वजनिक अभिव्यक्ति दिएका हुन्।
गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारी सम्हालिरहेका पदाधिकारी तथा कर्मचारीबाट अनधिकृत रूपमा सूचना चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको बताएका छन्। पदीय हैसियत बिर्सेर गोप्य सूचना बाहिर दिने कार्य स्वीकार्य नहुने उनको भनाइ छ।
“राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो,” उनले लेखेका छन्। पदले सूचनामा पहुँच दिए पनि त्यसलाई दुरुपयोग गर्ने अधिकार नदिने उनले स्पष्ट पारेका छन्।
गृहमन्त्रीले सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध रोकथाम र अनुसन्धानका लागि महत्वपूर्ण हुने बताएका छन्। त्यस्ता विवरणले अनुसन्धान अघि बढाउन तथा भविष्यमा गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्न सक्ने उनको भनाइ छ।
उनले राज्यले सुम्पिएको गोपनीयतामाथिको विश्वासघातलाई देश र सम्बन्धित संगठनप्रतिको विश्वासघातका रूपमा व्याख्या गरेका छन्। यस्तो कार्यमा संलग्न व्यक्ति जुनसुकै जिम्मेवारीमा भए पनि कानुनको कठघरामा ल्याइने बताएका छन्।
गुरुङको फेसबुक अभिव्यक्तिमा भने कुनै व्यक्तिको नाम उल्लेख गरिएको छैन। उनले गृह मन्त्रालय र मातहतका निकायका सम्पूर्ण जिम्मेवार पदाधिकारी तथा कर्मचारीलाई लक्षित गर्दै गोप्य सूचनाको संरक्षणमा जोड दिएका छन्।

