काठमाडौं । चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढ्दै गएपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो देखाएका छन्। प्रधानमन्त्रीको चासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएको उनीनिकट स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको चासो र पर्यटनमन्त्रीको निर्देशनपछि क्यानले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलका लागि बोलाएको थियो।
छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिबीच यात्रुलाई सहुलियत हुने गरी टिकट बिक्री वितरण गर्ने विषयमा छलफल भएको थियो। छलफलका क्रममा स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने तथा सो भाडादरबारे सम्बन्धित वायुसेवा कम्पनीको बिक्री वितरण प्लेटफर्ममा सूचना प्रकाशन गर्ने सहमति भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने र सोही समयमा हवाई टिकटको मूल्य महँगो हुने गरेको गुनासो बढेपछि सरकारले यस विषयमा चासो देखाएको हो।
क्यान र वायुसेवा कम्पनीबीच भएको सहमतिपछि यात्रुले उपलब्ध हुने सहुलियतपूर्ण टिकट तथा त्यसको भाडादरबारे सम्बन्धित वायुसेवा कम्पनीको बिक्री वितरण प्रणालीबाटै जानकारी प्राप्त गर्न सक्ने व्यवस्था हुने अपेक्षा गरिएको छ।
विशेषगरी दसैं, तिहार तथा छठजस्ता ठूला चाडपर्वका बेला देशका विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुको संख्या बढ्ने भएकाले हवाई टिकटको माग पनि उच्च हुने गरेको छ। यस्तो समयमा टिकटको मूल्य बढेको भन्दै यात्रुले पटक–पटक गुनासो गर्दै आएका छन्।
सरकारले चाडपर्वको समयमा यात्रुको सहज आवागमन सुनिश्चित गर्न हवाई भाडा र टिकट बिक्री वितरणको विषयमा चासो देखाएको हो।

