काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सफ्टवेयर खरिदमा अनिमितता गरेको भन्दै आयोगले मरासेनीसँगै लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सिम्रौनगढ नगरपालिका बाराको आ.व. २०७६।०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीसमेतको सफ्टवेयर खरिद तथा जडान/विस्तार गर्ने कार्यका लागि मरासेनी, चौधरी र यादवले टिप्पणी पेस तथा सप्टवेयर खरिद कार्यको स्वीकृत गरी एक लाख ९९ हजार ८ सय ९७ भुक्तानी गरेको तर उक्त सफ्टवेयर प्रयोग नगरी सरकारी सम्पत्तिमा हानी पुर्याएको आयोगको दाबी छ ।
उनीहरूलाई उक्त रकम बराबरकै बिगो कायम गरी सजायको माग दाबी गरिएको अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।