काठमाडौं । पशुपतिनाथ मन्दिरको मूल शिवलिङ्गमा राखिएको सुनको जलहरीको तौल लिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानको क्रममा सोमबार बिहान सुनको जलहरीको तौल लिइएको हो।
मूल शिवलिङ्गको जलहरीमा प्रयोग भएको सुनको तौल १०७ किलो ४६८ ग्राम मापन भएको पशुपति क्षेत्र विकास कोष स्रोतले जानकारी दिएको छ। अख्तियार स्रोतले जलहरीको तौल लिइएको बताए पनि यकिन तौलबारे भने उल्लेख गर्न चाहेन।
पशुपतिनाथ मन्दिरको मूल शिवलिङ्गमा ११ फागुन २०७७ मा सुनको जलहरी राखिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ माघ १२ गते पशुपति मन्दिरमा संकल्प पूजा गरेर सुनको जलहरी राख्ने बताएका थिए।
ओलीको घोषणाअनुसार नै तत्कालीन अवस्थामा १०८ किलो सुन प्रयोग गरेर मूल शिवलिङ्गमा जलहरी राख्ने निर्णय भएको थियो। तर, ११ किलो सुन गायव पारिएको भन्दै २ वर्ष अगाडि नै अख्तियारमा उजुरी परेको थियो।
उजुरी परेको २ वर्षसम्म अख्तियारले अनुसन्धानमा तदारुकता नदेखाए पनि पछिल्लो समय संसद्मै उक्त विषयले विवाद भएपछि अख्तियारले अनुसन्धानलाई गति दिएको थियो।
जलहरीको सुन जोख्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आइतबार पशुपति गएको थियो। अख्तियारको टोलीका साथै पशुपति क्षेत्र विकास कोष, खानी तथा भूगर्भ विभाग, पूरातत्व विभाग, गुणस्तर तथा नापतौल विभाग, नेपाली सेना, नेपाल प्रहरी र सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि समेतको उपस्थितिमा जलहरीको सुन जोखिएको हो।