काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौति गर्न उपयुक्त नहुने बताएका छन् । मन्त्रालयगत बजेटमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा रक्षामन्त्री खड्काले सुरक्षा परिषद्को सिफारिसमा सरकारले सेनाको संख्याबारे निर्णय गर्ने कानुनी व्यवस्था रहेको बताएका हुन् ।
‘संविधान तथा कानुनले सुम्पिएको जिम्मेवारी, सरकारद्वारा समय–समयमा तोकिएका अन्य जिम्मेवारी, अन्तर्राष्ट्रिय रुपमा शान्ति स्थापना कार्यमा सक्रिय रहँदा गर्नुपर्ने कार्य, मुलुकको भौगोलिक अवस्था, अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको संख्या निर्धारण हुने भएकाले हामीले निरपेक्ष रुपमा हेर्नुहुन्न ।’
बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने रक्षामन्त्री खड्काको भनाइ छ । ‘हाम्रो नेपाली सेनाको संख्या, हामीले उसलाई दिएको जिम्मेवारी बहु प्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु । हाम्रो राष्ट्रिय सुरक्षा नीतिको विषयमा उठेको विषय छ । त्यस सन्दर्भमा विश्वको बदलिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ–आफ्नै किसिमका सुरक्षा चुनौति तथा खतराहरुको सामना गर्नु परिरहेको छ । बाह्य आक्रमण, आन्तरिक द्वन्द्व, आतंकवाद, आर्थिक संकट, महामारी लगायतका सुरक्षा चुनौतिहरुले मानव जीवनमा नै कठिनाई निम्त्याईरहेका अवस्थाहरु छन ।’, उनले भने ।