काठमाडौं । एमाले नेतृत्वको कोसी प्रदेश सरकार ढलेको छ। सदनको विश्वास गुमाएसँगै कोसीबाट कार्की नेतृत्वको सरकार ढलेको हाे। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन गरेको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो। बैठकमा ८९ प्रदेशसभा सदस्य उपस्थित भएकाेमा कार्कीको पक्षमा जम्मा ४६ मत खसेकाे थियाे।
एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए। तर उनको विपक्षमा ४३ मत खसेको छ। विपक्षमा गठबन्धनबाट कांग्रेसका २९, माओवादीका १२ र नेकपा एसका ४ प्रदेशसभा सदस्यले मत हाले। गठबन्धन घटकमा रहेको जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन्। जसपाले बिहीबार तटसथ बस्ने निर्णय लिएकाे थियाे।
९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ। बहुमत पूरा गर्न नसकेसँगै १७४ दिनपछि मुख्यमन्त्री कार्की बाहिरिएका छन्। अब यो प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। अब कांग्रेस वा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने तयारी गरिएको छ। २०७९ मंसिरमा भएको प्रदेशसभा निर्वाचनपछि पुस २४ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए।