काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला (३ नम्बर पुल) को पहिरो पन्छाउन आइतबार साँझसम्म लाग्ने भएको छ।
शनिबार राति ११ बजे पहिरो खस्दा अवरूद्ध भएको सडक खुलाउन बिहानैदेखि स्काभेटर परिचालन गरिएको भए पनि पन्छाउन नसकिएको चितवन ट्राफिक प्रहरी प्रमुख राजकुमार तामाङले जानकारी दिए।
तुइन खोलाको मुग्लिनपट्टिको भागमा पहिरो गएको छैन। तर, नारायणगढतर्फको भागमा खुकुलो चट्टान रहेको र पानी पर्नासाथ पहिरो खस्ने उनले बताए।
उनका अनुसार मुग्लिनतर्फबाट आएका सवारी फिस्लिङ, कुरिनटार, मुग्लिनबजारमा रोकिएको उनले बताए। यता नारायणगढतर्फबाट आउने सवारी आँपटारी, रामनगर, जुगेडी, दासढुंगामा रोकिएको छ।
उनले साना सवारीका लागि हेटौंडा-पालुङ-नौबिसे, हेटौंडा-भीमफेदी-दक्षिणकाली हुँदै काठमाडौं आउने वैकल्पिक बाटो भए पनि ठूला सवारीलाई विकल्प दिन नसकिएको बताए।
जसका कारण लामो दूरीका यात्रुहरू मर्कामा छन्। गएरातिदेखि रोकिएका यात्रुको सडकमै बास भएको छ।