काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ६ रनले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ।
नेपालले दिएको २५५ रनको लक्ष्य पछ्याएको संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोली ले निर्धारित समयमा २४८ रन मात्र बनाउन सक्यो। वर्षाका कारण खेल रोकिएपछि डकवर्थ–लुइस नियमअनुसार यूएईलाई ३८ ओभरमा २५५ रनको लक्ष्य दिइएको थियो।
अन्तिम ओभरसम्म पुगेको खेलमा नेपालका नन्दन यादवको उत्कृष्ट बलिङ निर्णायक बन्यो। अन्तिम ओभरमा जितका लागि १५ रन आवश्यक हुँदा उनले मात्र ७ रन खर्चिएपछि नेपालले महत्वपूर्ण जित हात पारेको हो।
यूएईका लागि मुहम्मद सहदादले सर्वाधिक ६५ रन बनाए भने खुजैमा तनवीरले ४९, आकाशदीप नाथले ३६, हरप्रीत सिंहले ४१ र अर्यांश शर्माले ३३ रनको योगदान दिए।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले शतकीय इनिङ खेल्दै टोलीलाई बलियो स्कोरमा पुर्याएका थिए। जितसँगै नेपालले लिग–२ मा महत्वपूर्ण अंक जोडेको छ।

