काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले जिल्लाको प्रशासनिक तथा सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ। घटनाको प्रभावकारी अनुसन्धान, सुरक्षा व्यवस्थापन र शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरूको जिम्मेवारी परिवर्तन गरिएको हो।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएको छ। उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई सुनसरीको नयाँ सीडीओको जिम्मेवारी दिइएको छ।
यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ। उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेबेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ भने विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरीको नयाँ प्रहरी प्रमुख बनाएर पठाइएको छ।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल, कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको स्थानमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई खटाइएको गृह मन्त्रालयले जनाएको छ।
आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन्।
घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
घटनापछि थप तनाव फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु लागू गरेको छ।
गृह मन्त्रालयले प्रशासनिक र सुरक्षा नेतृत्वमा गरिएको हेरफेरले घटनाको प्रभावकारी अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन तथा प्रभावित क्षेत्रमा जनविश्वास कायम गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।

