काठमाडौं । १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ ।
ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कंक्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ ।
जिल्ला समन्वय समिति, तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि.सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एसियाली विकास बैंकका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले सोमबार बेलुन उडाएर नदी फर्काउने कामको शुभारम्भ गरेका हुन् ।
अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध निर्माण गरिने भएको छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको छ ।
कार्यकारी निर्देशक घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा र फड्को भएको बताए ।
विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भएतापनि अहिले नमुना आयोजनाको रुपमा अगाडि बढाउने गरी काम भइरहेको उल्लेख गर्दै घिसिङले समयमै सम्पन्न गर्ने गरी तदारुकताकासाथ काम भइरहेको बताए ।