काठमाडौं । भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई १४ बुँदे पत्र बुझाएका छन्। ‘भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल चाल्नुपर्ने कदम’ भन्दै लामिछानेले राहत व्यवस्थापन र वितरण तथा पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे सुझाएका छन्।
भूकम्प प्रभावित क्षेत्रमा शौचालयको धेरै समस्या भएकाले सरकारले व्यवस्थापन गरोस् भन्ने उनको सुझाव छ। ‘खानेपानी समस्या पनि उत्तिकै छ। यसैगरी पुरिएका पशु चौपायाहरूलाई निकाल्न सकिएको छैन, त्यसले गर्दा हैजा फैलिने डर बढेर गएको छ। ठाउँठाउँमा जनस्वास्थ्य टोली यथाशीघ्र पठाउनुपर्ने छ। यसमा सरकारको ध्यान जाओस्,’ लामिछानेले सुझाव दिएका छन्।
टुहुरा भएका बालबालिकाको व्यवस्थापनमा सरकारको ध्यान नगएको भन्दै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्। ‘टुहुरा भएका बालबालिकाको व्यवस्थापनमा सरकारको ध्यान गएको छैन। साथै, धेरै परिवारका १ जना सदस्य मात्रै बाँकी छन्, उनीहरूले सुरक्षा समेत खोजेका छन्। एकल व्यक्तिहरूका बारेमा सरकारले तत्काल कदम चाल्नुपर्ने देखिएको छ,’ लामिछानेले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा भनिएको छ, ‘भूकम्प प्रभावित क्षेत्रहरूमा सुत्केरी महिला, अपांग, वृद्ध आमाबुवालाई प्राथमिकतामा राखी सरकारले सबै काम थालोस् भन्ने अपेक्षा गर्दछु।’
उनले भूकम्प प्रभावित जनता, भूकम्प पश्चातको २ दिनमै आफ्नो जोहो आफैं गर्न संघर्षरत रहेको पाएको उल्लेख गरेका छन्। ‘यसले जनतालाई राज्यप्रति निराश बनाएको छ,’ पत्रमा भनिएको छ, ‘सरकार, जनताको अभिभावक हो भन्ने कुरा स्मरण गराउँदै, आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त कदम चालियोस्।’