काठमाडौं । नेकपा एमाले नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई राजनीतिमा फर्किने संवैधानिक अधिकारबाट वञ्चित गर्न खोजिएकोप्रति असन्तोष व्यक्त गरेकी छन्। एमालेले उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भण्डारीले उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाएकी हुन्।
उनले भनिन्, “राजनीतिमा फर्किने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्नेगरी गरिएको अपरिपक्व निर्णयले मलाई दुखी बनाएको छ।” भण्डारीले पार्टीले आवेग र उत्तेजनामा गरेको यस्ता निर्णयले पार्टीको साख र प्रतिष्ठा गिराउने बताइन्। “सत्यलाई अस्थायी रूपमा दबाउन सकिए पनि वास्तविकता लुकाउन सकिँदैन,” उनले थप भनिन्।
पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने संकेतसँगै एमालेभित्रको आन्तरिक राजनीति र नेतृत्वको व्यवहारको विषयमा सार्वजनिक चासो बढेको छ।