काठमाडौं । कान्तिपुर मिडियाबाट निकालिएका पत्रकारहरुको न्यायका लागि धर्नामा बसेका पत्रकारमाथि आक्रमण प्रयास भएको छ ।आन्दोलनको कार्यक्रम भइरहेका बेला बुधबार एक अपरिचित युवाले आक्रमण प्रयास गरेका हुन् ।
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको संयोजनमा कान्तिपुर मिडिया ग्रुपको गेट अगाडि धर्ना दिइरहेका बेला ती युवाले प्रहार गरेको ढुंगा पत्रकार टिकाराम प्रधानलाई लागेको थियो । पत्रकार प्रधान सामान्य घाइते भएका छन् ।
स्थानीय क्लिनिकमा उपचारपछि प्रधान धर्नामा सहभागी भएका थिए । आक्रमण गर्ने युवा को हुन भन्ने खुलेको छैन । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइते पत्रकार प्रधान कान्तिपुरबाट अन्यायमा परेका पत्रकार हुन् । लामो समयदेखी कान्तिपुरमा सेवारत पत्रकारहरुलाई श्रमजीवि पत्रकार ऐन विपरित सेवाबाट निष्काशन गर्दै अधिकारबाट बन्चित गर्न खोजेपछि महासंघले त्यसको विरोध स्वरुप आन्दोलनको अगुवाई गर्दै आएको छ ।
कान्तिपुर मिडिया ग्रुपले कार्यरत पत्रकारहरुलाई गैरकानूनी रुपमा निष्काशन गरेपश्चात नेपाल पत्रकार महासंघले आन्दोलनको कार्यक्रम राख्दै आएको छ । एशोसियट समिति अध्यक्ष बैकुण्ठ पराजुलीले नेतृत्व गरेको आजको धर्नामा महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, महासचिव रोशन पुरी, लेखा समिति संयोजक लेखनाथ न्यौपाने लगायतको सहभागीता रहेको थियो ।
यसैबीच पत्रकार महासंघले बिहीबार सम्पादकको खोजी गर्ने भएको छ । महासंघले बिहीबार दिउँसो २ः३० बजे सम्पादकको खाजेी गर्न लागेको हो । सो अन्तर्गत महासंघले माइतीघर मण्डलादेखि कान्तिपुर दैनिकको कार्यालयसम्म खोजी कार्य गर्नेछ ।