काठमाडौं । सुनको भाउले दिनानुदिन ऐतिहासिक रेकर्ड कायम गरिरहेको छ । मंसिर १२ गते, मंगलबार सुन तोलामा ३०० रुपैयाँले महंगिएको छ । सोमबार पनि सुनको भाउ नयाँ उचाइमा पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । यो हालसम्मकै उच्च विन्दु हो।
हिजो पनि सुनको भाउ सर्वाधिक महंगो रहेको थियो । हिजो सुन तोलामा ५०० रुपैयाँले उकालो लाग्दा प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ पुगेको थियो ।
इजरायल र प्यालेस्टाइनको युद्धका कारण लगानीकर्ताहरु त्रसित रहेकाले सुनको मूल्य बढेको विज्ञहरुको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यका अनुसार दुई राष्ट्रबीच केहि समयका लागि युद्धविराम गरिएता पनि युद्धको अनिश्चितता कारण पनि लगानीकर्ताहरुमा त्रास देखिएको छ । जसका कारण सुरक्षित लगानीको खाजी गर्दै यतिबेला सुनमा लगानी बढिरहेको छ । विश्व बजारमा सुनको भाउ बढेकाले नै नेपाली बजारमा पनि यसको प्रभाव देखिएको हो।
मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ५०० रुपैयाँ कायम रहेको छ । सोमबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५०० रुपैयाँ किनबेच भएकाे थियाे ।