काठमाडौं । नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनमा आज बिहानबाट मनोनयन दर्ता सुरु हुँदै छ । पार्टीको निर्वाचन आयोगले हिजो साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा आज बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ ।
आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर भोलि मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावलीमा परेको दाबी विरोधको छानबिन बिहान १० बजेसम्ममा सकिनेछ । बिहान १०:१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
आयोगले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नै उम्मेदवारीको फाराम वितरण गर्दै छ । ‘मतदाता नामावलीको दाबी विरोधमा छानबिन हुँदै गर्छ ।
उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउँसो २:३० बजे हुनेछ । उम्मेदवारका विरुद्ध उजुरी दिने समय २:३० देखि आधा घण्टालाई राखिएको छ । उम्मेदवारविरुद्धको छानबिन १० मिनेटमै सक्ने आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
काठमाडौंको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रमा २ हजार २६३ जना प्रतिनिधि सहभागी छन् ।

