काठमाडौं । नेपाल सरकारले पटक–पटक प्रयास गरे पनि नेपाल युरोपियन युनियनको उडान सम्बन्धी कालो सूचीबाट हट्न सकेन। युरोपियन कमिसनको मोभिलिटी एण्ड ट्रान्सपोर्ट डिभिजनले नेपाली वायुसेवा कम्पनीलाई कालो सूचीबाट हटाउन नमानेको हो।
युनियनले आज बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाली वायु सेवा कम्पनीलाई युरोपेली मुलुकको आकाश प्रयोगमा लागेको प्रतिबन्धलाई निरन्तरता दिएको छ।
इयूको एयर सेफ्टी कमिटीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हवाई सुरक्षा अडिट प्रतिवेदन पठाउँदै १२ बुँदामा सुझाव पठाएको छ । गत भदौ अन्तिममा नेपाल आएको इयूको टोलीले नेपाल नागरिक उड्डयन प्राधिकरण, सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सको जाँच गरेको थियो।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निगम र श्री एयरलाइन्सका कमजोरीका कारण नेपाली वायुसेवा यूरोपियन युनियनको सुरक्षा सूचीबाट हटाउने अवस्था नबनेको रिर्पोट आएको बताएका छन्।
अडिटपछि नोभेम्बर १४–१६ सम्म ब्रसेल्समा छलफलमा गरेर एयर सेफ्टी कमिटीले प्रतिवेदन तयार पारेको थियो । कमिटीले सुनुवाइपछि पठाएको इमेलमा नेपालको हवाई सेवा प्रणाली सुधारको दिशामा अघि बढेको पाइए पनि सुरक्षा सूचीबाट हालका लागि हटाउन नसकिने आशय रहेको उनले बताए।
प्राधिकरणको कामसँग सम्बद्ध कमजोरी उल्लेख नगरे पनि निगम र श्री एयरलाइन्सलाई सुरक्षा व्यवस्थापन प्रणाली र उडान संचालन नीतिमा सुधार गर्न सुझाव दिइएको जानकारी उनले दिए ।