काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारतर्फ अघि बढेको दाबी गरेका छन्। बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बोल्दै उनले यस्तो दाबी गरेका हुन्। मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिँदै उनले सरकारको चालू खर्चलाई गत वर्षको हाराहारीमा सीमित गरिएको बताए।
यो अवधिमा पुँजीगत खर्चतर्फ करिब ६.० प्रतिशत वृद्धिदर रहेको बताउँदै मन्त्री महतले भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करिब ७.१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको बताए।
उनका अनुसार मौद्रिक नीतिमार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट सात प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कामय गरिएको छ।
हाल अन्तरबैंक दर २.५ प्रतिशतको हाराहारीमा रहेको बताउँदै मन्त्री महतले ०७९ चैत महिनामा वाणिज्य बैंकहरूको औसत आधार दर १०.४८ प्रतिशत रहेको ०८० असोज मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ९.९४ प्रतिशत रहेको जानकारी दिए।
०७९/८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा रु. ६८.५५ अर्ब रहेकोमा यस वर्ष यस अवधिमा रु. १३० अर्ब पुगेको छ। यस्तै निक्षेपतर्फ ०७९/८० को पहिलो चार महिनामा रु. ४६.७४ अर्ब रहेकोमा यस वर्ष सोही अवधिमा रु. २४४ अर्ब पुगेको छ।
०८० असोज मसान्तसम्म चालू खाता रु. ५९ अर्ब ले बचतमा रहेको, रु. ९९ अर्बले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय सञ्चिति छ। विप्रेषणको आप्रवाह ०८० असोजमसम्ममा ३० प्रतिशतले बढेकोले बाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको उनको दाबी थियो।