काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी बुझाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाे थियाे ।
शुक्रबार खाँण धरौटी रकम जम्मा गर्न अदालत पुगेर धरौटी रकम अनुसार ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका छन् । यद्धपी तत्कालै उनी छुट्न भने पाउने छैनन् । खाँण अब सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित हुनुपर्नेछ । त्यसपछि मात्र उनलाई रिहा गरिनेछ ।