काठमाडौं । लमजुङको बेसिशहर नगरपालिका -११ मा महिलाहरुका लागि आधारभूत सिलाईकटाई सम्बन्धी ३ महिने सीप विकास तालिम शुरु भएको छ ।
गरिबी निवरणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) मोडलमा महिलासँग उपमेयर कार्यक्रम अन्तर्गत आइतबारदेखि चिति तिलाहरमा सिलाईकटाई तालिम शुरु गरिएको हो ।
महिलालाई आत्मनिर्भर र व्यावसायिक बनाउन नगरपालिकाले महिलालाई सिलाईकटाई सम्बन्धी आधारभूत तालिम दिन शुरु गरिएको नगरपालिका उपप्रमुख पद्मा गुरुङले बताइन् । ३ महिनासम्म महिलालाई प्रशिक्षक यमकुमारी श्रेष्ठले सिलाईकटाई सम्बन्धी तालिम प्रदान गर्नेछिन् ।
कार्यक्रममा नगरप्रमुख गुमानसिंह अर्यालले महिला आत्मनिर्भरमात्रै नभएर व्यावसायिक बन्नुपर्नेमा जोड दिँदै महिलाका लागि नगरपालिकाले विभिन्न तालिम साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
वडाअध्यक्ष शिवप्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख पद्मा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल, लेखा अधिकृत सिर्जना पौडेल, कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेल, वडा सदस्यहरु, महिला सञ्जाल अध्यक्ष सपना श्रेष्ठ, प्रशिक्षक यमकुमारी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
तालिममा सक्रियता सहभागिता जनाउनेलाई अन्तिममा सिलाईकटाई मेशिन पनि हस्तान्तरण गरिने भएको छ । तालिममा चाहिने कच्च पदार्थ, कैंची, स्केललगायत सवै सामग्री नगरपालिकाले नै व्यवस्थापन गरेको छ ।