काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको पदाधिकारी संख्या १९ सदस्यीय बनाउने प्रस्ताव पारित गरेको छ। अध्यक्ष ओलीको प्रस्ताव अनुसार पार्टीमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी कुल १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था तय भएको छ।
बैठकले स्थायी कमिटी ४५ सदस्यीय, पोलिटब्युरो ९९ सदस्यीय र केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने निर्णय पनि गरेको छ। पूर्वमा विधान महाधिवेशनले पदाधिकारी संख्या सीमित गरेको निर्णयलाई उल्टाउँदै अध्यक्ष ओलीले पदाधिकारी संख्या वृद्धि गरेका हुन्। यो प्रस्ताव महाधिवेशनबाट अनुमोदन भएपछि तुरुन्तै बस्ने बन्द सत्रमार्फत नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढाइनेछ।

