काठमाडौं । लमजुङकाे मध्य मर्स्याङ्दी जलविद्युत आयोजनाले आयोजनाको जलाशयमा माछाको भुरा छाडेको छ । कालीगण्डकी जलविद्युत आयोजना अन्तर्गत माछा प्रजनन् केन्द्रबाट ल्याइएका २९ पोका भुरा मंगलबार मस्र्याङदी नदिमा छोडिएको हो ।
७० मेगावाट क्षमताको सो आयोजनाले माछाको पारिस्थितिक प्रणाली र वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा राखेको जनाएको छ । आयोजनाको बाँधस्थल भन्दा माथि बेसीशहर–१, गाईखुरे झरना नजिकैबाट जलाशयमा माछाको भुरा छोडिएको मध्य मर्स्याङ्दी जलविद्युत आयोजनाका प्रमूख पवन बस्नेतले जानकारी दिए ।
आयोजना प्रमूख बस्नेतका अनुसार नदीमा थेड, हाडे र गर्दी लगायत विभिन्न जातका माछाका भुरा राखिएको छ । कालीगण्डकी जलविद्युत आयोजना अन्तर्गत माछा प्रजनन केन्द्रबाट ल्याइएका भुरा मस्र्याङदी नदिमा छोडिएको आयोजना प्रमुख बस्नेतले बताए ।
जलविद्युत आयोजना निर्माणका क्रममा स्थानीय खोला तथा नदीहरुमा जल पारिस्थितिक प्रणालीमा नकारात्मक असर पर्ने भएकाले माछाका भुरा राख्नुपरेको आयोजनाले जनाएको छ । माछाको पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न माछाको संरक्षण पनि महत्वपूर्ण हुने सरोकारवालाहरुको भनाइ छ ।