काठमाडौं । नेपाली मिडिया उद्योगमा उल्लेखनीय योगदान पुर्याउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली पत्रकारिता पहिचान दिलाउन सफल अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई अमेरिकाको प्रतिष्ठित कम्पनी बाईस्ट्रिम्स एलएलसी ले यस वर्षको ‘मिडिया लिडर अफ द इयर’ अवार्ड दिने घोषणा गरेको छ।
कम्पनीका चेयरम्यान एड्रियन पोखरेलले कम्पनीको आधिकारिक फेसबुक पेज र ‘नमस्ते अमेरिका’ कार्यक्रममार्फत अवार्डको घोषणा गरेका हुन्।
पोखरेलले बस्नेतको सत्य, नवीनता र जनसेवामूलक पत्रकारिताको प्रशंसा गर्दै भने, “नेपाली संचार क्षेत्रमा मात्र होइन, अन्तर्राष्ट्रिय मिडिया नेतृत्वको यात्रामा समेत उनले अनुकरणीय मापदण्ड स्थापना गरेका छन्। उनी विश्व पत्रकारिताका लागि पनि प्रेरणास्रोत बनिसकेका छन्।”
उनको नेतृत्वमा अन्नपूर्ण मिडिया नेटवर्क प्रेस स्वतन्त्रताको पहरेदार, उत्पीडित आवाजको प्रतिनिधि र नयाँ पुस्ताका पत्रकारहरूका लागि प्रेरणाको केन्द्रका रूपमा स्थापित भएको बताइएको छ।
बस्नेतको सत्यनिष्ठ पत्रकारिता, गहन अनुसन्धान, र निर्भीक निर्णयहरूले हजारौँ पाठक तथा दर्शकहरूलाई जिम्मेवार नागरिकका रूपमा रूपान्तरण गरेको पोखरेलले उल्लेख गरे।
उनले भने, “गाह्रो परिस्थितिमा पनि सत्यको पक्षमा दृढतापूर्वक उभिने, नेतृत्वमा मानवीय दृष्टिकोण प्रस्तुत गर्ने गुणले उहाँलाई यो सम्मानको योग्य बनाएको हो।”
अवार्ड घोषणा गरिएको भिडियो सन्देशमा भनिएको छ, “मनोज, तपाईंको नेतृत्व, सत्यप्रतिको अडान र दूरदर्शितापूर्ण सोचप्रति हामी गहिरो सम्मान व्यक्त गर्छौं। तपाईंले देखाएको मार्गले आजका मात्र होइन, भोलिका पत्रकारहरूलाई पनि प्रेरणा दिनेछ।”
बाईस्ट्रिम्स एलएलसी ले हरेक वर्ष विश्वभरका प्रभावशाली मिडिया व्यक्तित्वलाई यस अवार्डबाट सम्मान गर्दै आएको छ।