काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँगको भेटघाट पूर्वराष्ट्रपतिकाे आग्रहमै भएको बताएका छन्।
पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भेटवार्तामा विद्या भण्डारीलाई पोलिटब्युरोको पछिल्लो निर्णयबारे जानकारी गराइएको बताए। उनका अनुसार, भेटमा राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र गणतन्त्रप्रति अनावश्यक विवाद सिर्जना नहोस् भन्ने विषयमा स्पष्ट धारणा राखिएको थियो।
ओलीले भने, “राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ। उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनुभएको छ। त्यसपछि पार्टीले आवश्यक निर्णय गर्नेछ।”
भेटबारे थप विवरण दिँदै उनले भने,‘पार्टी कार्यालय नगएको धेरै भयो, त्यहीँ आउँछु।’ त्यसपछि भेट पार्टी कार्यालयमै भयो। तर, उहाँ आउँदा केही असन्तुष्ट र आफैं चुनाव गराएर हारेका समूहहरू पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए।”
पूर्वराष्ट्रपति भण्डारीले एमालेको साधारण सदस्यता नवीकरण गरिसकेको भन्दै सार्वजनिक रूपमा देखा परेपछि राजनीतिक वृत्तमा व्यापक चर्चा भएको छ। त्यसको पृष्ठभूमिमा पार्टी अध्यक्ष ओलीले भेटलाई स्पष्ट पारेका हुन्।